(१) स्वदेशी निर्माता वा वितरकले चलचित्र जाँच गराउनको लागि अनुसूची–१० बमोजिमको ढाँचामा सम्बन्धित चलचित्र जाँच समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका चलचित्र मात्र प्रदर्शन गर्नु पर्नेछ ।
(३) चलचित्र जाँच समितिले कुनै चलचित्र देहायका कुनै व्यक्तिलाई मात्र सार्वजनिक प्रदर्शन गर्न पाउने शर्त तोकी अनुमति दिन सक्नेछ र त्यसरी अनुमति दिएकोमा सम्बन्धित वितरक वा प्रदर्शकले सो चलचित्रको प्रचार प्रसार सामग्रीमा त्यस्तो कुरा स्पष्ट रूपमा देखिने गरी उल्लेख गर्नु पर्नेछः–
(क) सोह्र वर्ष उमेर पूरा गरेका व्यक्तिका लागि,
(ख) अभिभावकको साथमा रहने गरी सोह्र वर्षभन्दा कम उमेरका व्यक्तिका लागि,
(ग) निश्चित पेशा वा क्षेत्रका व्यक्तिका लागि,
(घ) सबैका लागि ।
(४) प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुभन्दा अगाडि चलचित्र जाँच समितिबाट प्राप्त चलचित्र जाँचपास प्रमाणपत्रको छायाँङ्कनप्रति पर्दामा देखाउनु पर्नेछ ।
(५) प्रदर्शकले चलचित्र जाँच समितिबाट जाँचपास गरेको चलचित्रलाई काटछाँट गरी प्रदर्शन गर्नु हुँदैन ।
तर एक पटक जाँच भएको चलचित्रलाई काटछाँट वा हेरफेर गर्नु परेमा चलचित्र जाँच समितिबाट पुन जाँचपास गराई प्रदर्शन गर्न सकिनेछ ।
(६) प्रदर्शकले चलचित्र घरको सिट संख्याभन्दा बढी संख्यामा टिकट बिक्री गरी चलचित्र प्रदर्शन गराउन हुँदैन ।
१७क. नाम मिल्ने गरी चलचित्र निर्माण गर्न नहुने :- कसैले पनि अन्य इजाजतपत्र प्राप्त व्यक्तिले निर्माण गरेको चलचित्रको नामसँग मिल्ने गरी सो चलचित्र जाँच भएको मितिले दश वर्षसम्म अर्को चलचित्र बनाउन हुँदैन ।
१७ख.चलचित्रको पुन स्वराङ्कन गर्न स्वीकृति लिनु पर्ने :-
(१) चलचित्र निर्माताले एउटा भाषामा निर्माण भएको चलचित्रलाई अर्को भाषामा पुन स्वराङ्कन गर्न चाहेमा स्वीकृतिको लागि मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको दरखास्त उपर आवश्यक जाँचबुझ गर्दा सो चलचित्रलाई अर्का भाषामा पुन स्वराङ्कन गर्न दिन उपयुक्त देखिएमा मन्त्रालयले तीन हजार रूपैयाँ दस्तुर लिई पुन स्वराङ्कन गर्ने स्वीकृति दिनेछ ।
(३) यस नियम बमोजिम पुन स्वराङ्कन गरिएको चलचित्र सार्वजनिक प्रदर्शन गर्नु अघि चलचित्र जाँच समितिबाट जँचाउनु पर्नेछ ।